तीनकुने र कोटेश्वरमा जनतामाथि लुटपाट र डकैती भयो, छानबिन गरी दोषीलाई कारबाही होस् : सांसद गौतम

काठमाडौँ — राजावादी समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा प्रदर्शनका नाममा गरेको घटनाले लोकतन्त्रको शिर झुकाएको रास्वपा सांसद सोबिता गौतमले बताएकी छन् ।

गौतमले सामाजिक सञ्जालमार्फत शनिबार उक्त घटनाको विरोध गरेकी हुन् । ‘हिजो तीनकुनेमा भएको घटनाले हाम्रो लोकतान्त्रिक मुलुकको शिर झुकाएको छ । शान्तिपूर्ण आन्दोलन गर्नु नागरिकको संवैधानिक अधिकार हो, तर त्यसको नाममा सर्वसाधारणमाथि नै आक्रमण गर्नु कदापि स्वीकार्य छैन । कसैको निजी सम्पत्ति घर जलाउनु, एउटा सामान्य मानिसले आफ्नो परिवार पाल्न खोलेको स्टेशनरी पसल जलाएर खरानी पार्नु, औषधी कारखाना जलाउनु, सम्पत्ती लुटपाट गर्नु कुनै राष्ट्रवादी कार्य हैन, हुन सक्दैन । यस्तो हिंसा न त राष्ट्रवादी भाव हो, न त देश सेवाको माध्यम हो । यो सामान्य जनतामाथिको निर्मम प्रहार हो, लुटपाट र डकैती हो,’ उनको भनाइ छ, ‘चैत १५ गते शुक्रबार काठमाडौं क्षेत्र नम्बर २ स्थित तीनकुने, कोटेश्वर, बालकुमारी, जडिबुटी तथा सिनामंगल क्षेत्रमा भएका सम्पूर्ण निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आगजनी, लुटपाट तथा क्षति पुर्‍याउने कार्यको घोर निन्दा गर्दछु ।’